
फोटोः आयुषमान कायस्थ
सन् १८७७ सम्म काठमाण्डौ उपत्यकामा बच्चा कोरल्ने (स्कली १९८७) रैथाने प्रजाति सन् १९४७ मा आइपुग्दा विरल मात्रामा देखिन पुगेको (विश्वास १९६०) र त्यसपछि १९५० सम्म तिन पटक भेटिएको रातो टाउके बौंडाई (Red-necked Falcon) ७० बर्ष पछि आफ्नो पुरानै थातथलोमा पून फर्किएको छ । पंछी अवलोकन तथा फोटो खिच्ने क्रममा आयुषमान कायस्थ, दिपक बुढाथोकी, यज्ञलाल ज्ञवाली र दशरथमान बिजुक्छेले बाग्मती कोरीडोरमा उक्त बौंडाईलाई आज सेप्टेम्बर ९, २०२० बुधबारका दिन अभिलेख गरेका हुन् ।
समुन्द्री सतह देखि १४५० मिटर सम्म भेटिने यस प्रजाति ब्रायन हड्सनले १९ औं शताब्दीमा नेपालको लागि पहिलो रेकर्ड आफ्नै कार्यक्षेत्र उपत्यकाको ब्रिटिश रेसिडेन्सीको गार्डेनमा गरेका थिए । सन् १९८० देखि कोशी टप्पु वन्यजन्तु आरक्षमा प्रायः बिरल रुपमा देखिने र हालका दिनमा पनि विरलै देखिएको छ (इन्स्किप र इन्स्किप, १९९१) । सन् १९९० पछि भने कोशी क्षेत्रमा सानो संख्यामा देखिने (बराल, १९९२) गरेको छ ।

नेपालको संकटापन्न पंछीको रातो किताबका अनुसार बस्नेत र हल्टले १९९९, गिरी र चौधरीले १९९६, इन्स्किप र इन्स्किपले २००१, कोट्रिज र तिवारीले २००२, बराल र चौधरीले २००३, मलिङ्ग ओलसनले २००४, भान देर डोलले २००५, मल्लालिउ ले २००६, चौधरी र जिसिले २००७, गिरीले २००८ र बरालले २००९ मा सो क्षेत्रमा अभिलेख गरेका छन् । पछिल्लो समयमा सन् २०१८ सम्ममा कोशीमा बच्चा समेत कोरलेको (बराल एच, चौधरी बि, चौधरी एच, तिम्सिना ए र आचार्य एस २०१८) र सन् २०१७ (गुरुङ पि) र सन् २०१९ र २०२० (चौधरी बि र आचार्य एस) मा समेत देखिएकोले कोशी यस प्रजातिको आवासिय क्षेत्र हो ।
आईयूसियनको कम चासोमा राखिएको यस प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा भने विरल हिउँदे आगन्तुक (गुरुङ १९८३, स्टार्डफोड २००४, सुबेदी २०१०) को रुपमा देखिएको थियो । त्यसै गरि निकुञ्जकै मध्यबर्ति क्षेत्रमा समेत फेला परेको थियो (परियार के २०११, तिवारी एस २०११ र गिरी टि २०१२) र भरतपुर विमानास्थलमा समेत एउटा भेटिएको थियो (चौधरी एच २०१०) ।

सुदुर पश्चिम नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा (बराल र इन्स्किप २००९), कृष्णसार संरक्षण क्षेत्र (कुँवर २०१५) मा समेत यस प्रजाति देखिएको थियो । त्यसैगरी पश्चिम नेपालको बर्दिया (जिसि २०१८) कपिलवस्तु (कक्स र गिरी २००७ र कक्स २००८), रुपन्देहि (गिरी २०१०) मा र लुम्बिनीमा (जिसि र गुरुङ २०११) एक एक वटा अभिलेख गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्रमा भने (इर्भिन १९९४) एक मात्र अभिलेख देखिन्छ ।
नेपालमा भने संकटापन्नको सुचीमा (बर्डस अफ नेपाल एन अफिसियल चेकलिस्ट २०१८) रहेको यस प्रजाति समग्रमा अति विरल रहेकोमा पंछीबिदहरुको कुनै दुइमत छैन । पछिल्लो समयमा एक पछि अर्को प्रजाति धेरै समय पछि भेटिनुले पंछिबिदहरु डा. हेमसागर बराल, हठन चौधरी, टिकाराम गिरि, रमेश चौधरी, बद्री चौधरी, राजेन्द्र गुरुङ, सोम जिसि, सञ्जिब आचार्य, संदेश गुरुङ लगाएतले हर्ष ब्यक्त गर्नुहुन्छ ।
पंत्तिकार संरक्षणकर्मी तथा पोखरा पंछी समाजका अध्यक्ष हुन् ।

