पोखराका १० सहित गण्डकी प्रदेशमा ४५ जना संक्रमित थपिए, थप एक जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ भदौ । पोखराका १० जनासहित गण्डकी प्रदेशमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार ११ बजे जारी गरेको विज्ञप्तिअनुसार पोखराका ५ वडाका १० जना, गोरखाका १ र नवलपुरका ३४ जनामा गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ३ की ३० वर्षीया महिला, ५ की ४५ वर्षीया महिला, २८ का ४८ वर्षीय पुरुष, ७ का २७ र २८ वर्षीय पुरुष, १६ का ३४, १६, १८, २१ र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै गोरखाको आरुघाटकी ३१ वर्षे महिलामा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै नवलपुरको देवचुली गाउँपालिकाका ३४ जनामा पनि कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ६५ पुगेको छ । शनिबार बिहान पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ । पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ५ की ४५ वर्षीया महिलाको गएराती १ः१५ बजे मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको निर्देशनालयले जनाएको छ ।



Tags: