
काठमाडौं । नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको छ ।
नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेईलाई सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको हो । रक्षा मन्त्री वेई चिनियाँ राजदूतावासको कार्यक्रम सकेर सैनिक मुख्यालय पुगेका हुन् ।

जंगी अड्डामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्दैछन् । प्रधानसेनापति थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच जंगी अड्डामा छलफल हुनेछ ।
सेनापतिसँगको भेटपछि उनले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दैछन् । प्रधानमन्त्रीसँगको भेट सकेर वेइ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटका लागि शीतल निवास पुग्नेछन् ।
नेपाली सेनाद्वारा जङ्गी अड्डामा दिइएको सलामी ग्रहण गर्दै चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे ।
हेर्नुहोस तस्विरहरु । तस्विरः रासस







