
पोखरा । गुरूङ फिल्म एशोशिएसनद्वारा पोखरा मिडटाउन मुभि हलमा शनिवार गुरुङ भाषा, कला र संस्कार संस्कृतिमा आधारित गुरुङ चलचित्र कर्म क्याँ अर्थात कर्मको बाटोको मिडिया माझ प्रदर्शन भयो ।
निर्देशक जसमाया गुरूङद्वारा निर्देशित कर्म क्याँ २५ वर्ष अगाडिको कथा रहेको छ । टिकट ‘पुस सेल’मा मात्र सीमित गुरूङ चलचित्रलाई नेपाली सिनेमाहरू जस्तै सबै दर्शकहरूले गएर हेर्न सकुन भन्ने अभिप्रायले जिफानको सहयोगमा प्रदर्शन गरिएको निर्देशक जसमाया गुरूङले बताइन् ।
गुरूङ भाषा तथा संस्कृतिमा आधारित फिल्मलाई खुल्ला प्रतिष्पर्धामा लैजाने उद्देश्यले कदम चालिएको जिफानका अध्यक्ष भोजबहादुर गुरूङले जानकारी गराए । ‘पहिला गुरूङ फिल्महरू टिकट पुससेल र च्यारिटि शो मार्फत प्रदर्शन गर्ने गरिन्थ्यो ।’ उनले भने, ‘नेपाली चलचित्रपछि धेरै बन्ने गुरुङ चलचित्रलाई पनि प्रतिस्पर्धामा लैजान जरुरी छ । गुरुङ संस्कृतिमा आधारित चलचित्रहरु गुरूङ भाषामा भए पनि सबैले सजिलै बुझन सकिन्छ ।’

यस चलचित्रमा माया प्रीति, परिस्थिति जन्य विछोड, वैदेशिक रोजगार र गुरूङ परम्परागत संस्कृतिलाई मुख्य विषय बनाईएको छ । चलचित्र हेर्दा सरल, दुःखान्त सामाजिक परम्परागत न्याय र मनोरञ्जनात्मक पक्ष देख्न पाईन्छ । गाउँघरमा रोधी परम्परा र रौसे आमा पनि देख्न सकिन्छ । यो एकदमै पुरानो संस्कृति हो । गाउँघरमा न्याय निसाफ झैझगडा पर्दा गाउँकै मुखिया जिम्वालद्वारा मिलाउने परम्परा पनि यस चलचित्रमा देख्न सकिन्छ । चलचित्रको पूर्ण छायाँकन लमजुङ्ग जिल्लाको नाल्मा र बिम्दा गाउँमा गरिएको छ ।
फिल्मको कथाकार शंकर गुरुङ ‘बतासे’ को रहेको छ । चलचित्रमा पटकथा र संवाद पनि उनकै छ । चलचित्रको मुख्य भूमिकामा सुजित गुरुङ, रिया गुरुङ, विष्णु गुरुङ लगायत छन् ।
फिल्म प्राविधिक रूपमा सफल मान्न सकिन्छ । यसलाई परम्परागत फिल्म शैलीधार परिपवर्तन गर्न सकेमा अझ अग्र्यानिक मौलिकपन देख्न सकिन्थ्यो ।

