प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आइतबार बोलाइएको बैठक प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

पुनःस्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल–नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए । दाहाल नेपाल समूहका सांसदहरु भने कांग्रेस सांसदहरुको अवरोध अघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए । तर कांग्रेसले निरन्तर नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको हो।

नाराबाजीका बीच सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे भने त्यसपछि सूचना टाँस गरेर फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।