
चितवन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।
यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिएको हो ।
डा. यादवले भने, ‘दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे । उनले थपे, ‘म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।’
देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए । उनले भने, ‘हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।’

