चैत १२ देखि २२ सम्म ‘खास्टे ताल महोत्सव’

-


     मर्दी न्युज    
     चैत्र ९ गते २०७७ मा प्रकाशित


पोखरा । पोखराको लेखनाथमा खास्टे ताल महोत्सव हुने भएको छ । कोरोना महामारीले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रोकिएपछि पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

‘लेखनाथ खास्टेताल महोत्सव जाऔं प्रकृति र संस्कृतिमा रमाऔ’ नारासहित पोखरा महानगर–२६ लेखनाथमा यही चैत १२ देखि २२ गतेसम्म प्रथम खास्टे ताल महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा खास्टे तथा न्युरेनी ताल संरक्षण समितिका अध्यक्षसमेत रहेको महोत्सव संयोजक हरिप्रसाद अधिकारीले बताए ।

महोत्सव सफल पार्न ताल संरक्षण समितिमा आबद्ध सदस्य र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, राजनीतिककर्मीसहित १ हजार ५ सय १ सदस्य मूल समारोह समिति गठन गरिएको जनाएको छ । महोत्सवलाई सफल पार्न विभिन्न उपसमिति गठन गरी आवश्यक तयारी अगाडि बढाइएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

महोत्सवलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नारायणप्रसाद बरालले बताए ।

महोत्सवमा ११० वटा स्टलहरु रहने छ भने करिब ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको संयोजक समेत रहेका अध्यक्ष अधिकारीले बताए । महोत्सव आयोजना गर्दा करिब ९७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने ९८ लाख ५० हजार आम्दानी भई एक लाख बचत हुने आयोजकको अनुमान छ ।

रामसारमा सूचीकृत भईसकेको अवस्थामा ताल किनारमा पाईने जैविक विविधता संरक्षणलाई समेत महोत्सवले सहयोग पुर्याउने विश्वास लिइएको छ ।