
सन थापा,
जापान, ८ वैशाख । कोरोना संक्रमण पुनः बढ्दै गएपछि जापान सरकारले तेस्रोपटक आपतकालीन अवस्था घोषणा गर्ने तयारी गरेको छ । पछिल्लो समय ओसाका, टोकियो र ह्योगोमा कोरोना संक्रमणको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिएको छ । ओसाकाका गभर्नर हिरोफुमि योशीमुरा, टोकियोका गभर्नर युरिको कोईके र ह्योगोका गभर्नर तोशिजो ईदोले अप्रिल २९ बाट सुरू हुने गोल्डेन वीक बिदाअघि आपतकालीन अवस्था घोषणा गर्न केन्द्रीय सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री योशिहिदे सुगाले प्रान्तमा आपतकालीन अवस्था घोषणा गर्ने बारे यो हप्ताको अन्तिममा सरकारले निर्णय गर्ने बताएका छन् ।
२४ घण्टामा ५,हजार २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ५ लाख ४८ हजार २ सय ५६ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ८९ हजार ६ सय तीन जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार ७ सय ८६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
बुधबार १२ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा १ हजार २ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा ८ सय ४३, ह्योगोमा ५ सय ६३, आईचीमा ३ सय १२, खानागावामा २ सय ५२, फुकुओकामा २ सय ४४, साईतामामा २ सय २७, क्योतोमा १ सय २८, होक्काइदोमा १ सय २४, चिबा र नारामा १ सय १२, ओकिनावामा ९५ जना संक्रमित थपिए ।
सोमबार ५४ हजार ३ सय ८९ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये ४१ हजार ९ सय सात जनाको उपचार भइरहेको छ भने ७ सय ९१ जनाको अवस्था गम्भीर रहेको छ ।
१० हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा १ लाख ३२ हजार ४२, ओसाकामा ७१ हजार ८३, खानागावामा ५१ हजार ४ सय २९, साईतामामा ३६ हजार एक, चिबामा ३१ हजार ९ सय १६, आईचीमा ३० हजार ८ सय ५४, ह्योगोमा २७ हजार २२, होक्काईदोमा २२ हजार ६ सय ८९, फुकुओकामा २० हजार ७ सय ५३, ओकिनावामा ११ हजार ७ सय ४७ र क्योतोमा ११ हजार २ सय ८१ जना संक्रमित भएका छन् ।

