पोखरेली पर्यटन ब्यबसायीहरु आन्दोलित

-


     मर्दी न्युज    
     असार २४ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय शहर पोखराका पर्यटन ब्यबसायीहरु यतिबेला आन्दोलित छन् ।

यसै सन्दर्भमा लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा बृहत पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । जानकारी गराइए अनुसार, पर्यटन ब्यबसायी तथा आबद्ध मजदुर कर्मचारीहरुलाई कोभिड विरुद्धको भ्याक्सिनको लागि जोडदार मागगर्ने तथा भ्याक्सिन विना ब्यवसाय चलाउन बाध्य नहुने बताइएको छ ।

त्यसैगरी नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) अबधिको कुनैपनी कर, बैंकको ब्याज, नविकरण शुल्क, घरभाडा, यातायात कर पुर्ण रूपमा मिनाहा गराउने, सरकारले ल्याएको मौद्रिक निति राम्रो भएतापनि कार्यान्वयन पक्ष फितलो भएको कारण तत्कालै सुधार गर्नुपर्ने सहितका ५ बुँदे मागहरुमा अध्यक्ष गोपी बहादुर भट्टराई द्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा बताईएका्े छ ।

पर्यटन ब्यबसायी तथा मजदुर कर्मचारीहरुलाई अग्रपंक्तिको रूपमा लिन र कोभिड विरुद्धको खोपमा प्राथमिकतामा पार्नुपर्ने, ब्यबसाय जिबनरक्षा कोषको रकम सहज र सरल रूपमा उपलब्ध हुनुपर्ने, बैंकमा तिर्नुपर्ने कर्जाको किस्ताको पुनर्तालिकिकरण तथा ब्याजमा छुट र सहुलियत हुनुपर्ने, ब्यबसायलाई नै धितोको रुपमा मुल्यांकन हुनुपर्ने, कम्पनीले सिफारिस गरेका मजदुर कर्मचारीले बैंकबाट कम्तीमा १ लाख देखि ५ लाखसम्मको ऋण पाउनुपर्ने लगायतका मागहरू सहित उनिहरु आन्दोलित बनेका हुन् ।

स्मरणिय छ, पोखरा पर्यटन परिषदको अगुवाइमा यहाँ कृयाशिल सम्पुर्ण पर्यटन संम्बद्द संस्थाहरुको तर्फबाट शान्तिपूर्ण जुलुस सहित कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री, राष्ट्रबैंक गण्डकी प्रदेशका कार्यालय प्रमुख, पोखरा महानगरपालिका का मेयरलाई ज्ञापन पत्र तथा ध्यानाकर्षण यस अघिको कार्यक्रममा गरिएको थियो । यस सम्बन्धमा कतैबाट पनि ठोस सुनुवाइ नभए बाध्य भएर दोस्रो चरण को आन्दोलनमा जानुपर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले बताउनुभयो ।