भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०७९ मा प्रकाशित


काठमाडौं । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ ।

शुक्रबार राति संखुवासभाबाट बन्दाकोभी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो ।

बन्दाकोभी बोकेर भारततिर जान लागेको प्रदेश १–०२–००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजन भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दाकोभी र ६ बोरा गाँजा थियो ।

गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दाकोभी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो । इलाका प्रहरी कार्यालय रानीले चालक राईसँग गाँजा विषयमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।



Tags: