जग्गा खरिद तथा भवन निर्माणार्थ मङ्सिर २४ गते जिफान साँझ गर्ने

-


     मर्दी न्युज    
     मंसिर १ गते २०७९ मा प्रकाशित


पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ ।

बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्जबहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए ।

पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने उनले बताए ।

कार्यक्रमबाट झण्डै ५ करोड संकलन गर्ने योजना रहेको र यसलाई गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ रहनेमा विश्वस्त रहेको पनि अध्यक्ष गुरुङले बताए । ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु । यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र संस्कृतिको प्रबर्द्धन एवम् संरक्षणमा टेवा पुग्ने छ ।’ उनले भने ।

संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए । २७ वर्ष देखि जिफानमार्फत आफ्नो कला र सस्कृति जोगाउन लागिपरेको बताउँदै यस योगदानको मूल्यांकन तमु धिं, तमु प्ये ल्हु संघ, तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको उनले बताए ।

महासचिव गुरुङले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्र मार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रम पनि गर्ने योजना भएको सुनाए ।

२०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र निर्माण भएको र ७०० भन्दा बढी गुरुङ भाषाको गीत÷संगीत सिर्जना भएको बताए । २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र बजारलाई देशको दोस्रो ठूलो सिनेबजारको रुपमा लिइन्छ भने आदिवासी जनजाति चलचित्र उद्योगको हकमा भने अग्रणी उद्योगको रुपमा लिइन्छ ।