गण्डकी प्रदेश क्लाईम्बिङ्ग स्पोर्ट्स संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

-


     मर्दी न्युज    
     असाेज ३ गते २०८० मा प्रकाशित


पोखरा । राष्ट्रिय खेलकुद परिषदबाट बिशेष खेलको मान्यता प्राप्त गरेको र केन्द्रमा नेपाल क्लाईम्बिङ्ग स्पोर्ट् एसोसिएसन मातहत रहेको गण्डकी प्रदेश क्लाईम्बिङ्ग स्पोर्ट्स संघको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । पोखराको लेकसाईड स्थित होटल एलिगेन्टको सभाहलमा भएको कार्यक्रममा गण्डकी प्रदेश भित्रका सरोकारवाला हरुको बाक्लो उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै नेपाल क्लाईम्बिङ्ग स्पोर्ट संघका केन्द्रिय उपाध्यक्ष, नेपालको पहिलो इन्टरनेसनल माउन्टेन गाइड तथा खेल बिज्ञ सुनार बहादुर गुरुङले यो खेलको प्राविधिक पाटो, खेलाडी र कोच तथा रेफ्री उत्पादन गर्दा अबलम्बन गर्नुपर्ने नियमहरु तथा गण्डकी प्रदेशमा यो खेलको सम्भावना चुनौतीहरु बारेमा बिबेचना गरेका थिए ।

शुभकामना मन्तव्य कै क्रममा गण्डकी प्रदेश क्रीकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको खेल पर्यटन भएको बताउँदै, खेलमा पनि सहासिक खेलकुदको विकास नै प्रदेशको विकास भएको बताए ।

बिशेष अतिथीको मन्तव्यमा प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्माले खेलकुद संस्थाहरु दर्ता हुने तथा अधिवेशन नगर्ने प्रबृत्तिमा रमाईरेको आरोप लगाउँदै अब यस्तो प्रबृत्तिको अन्त्य हुने बताए । ‘एकातर यस्तो समस्या छ भने, अर्कोतिर प्रदेशका खेलाडी, रेफ्रि तथा प्रशिक्षकहरु परिषदमा सूचीकृत छैनन् ।’ उनले भने । गण्डकी प्रदेशबाट कति खेलाडी, रेफ्रि तथा प्रशिक्षकले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाए भन्ने प्रदेश खेलकुद परिषदलाई नै थाहा नभएको बताए ।

अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्ने क्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री सुशिला सिंखडाले झोलामा र खल्तीमा भएका खेल संस्थाहरुलाई रंगशलामा ल्याउन निर्देशन दिएकी छिन् । गण्डकी प्रदेश खेलकुद परिषदकी अध्यक्ष समेत रहेकी सिंखडाले परिषदका सदस्यसचिव श्रीधर शर्मालाई अब ती संस्थालाई झोलामा र खल्तीबाट मैदानमा ओराल्न निर्देशन दिएकी हुन् ।

आफुले खेलकुद सँस्थाहरु व्यक्तिका झोला र खल्तीमा रहेको थाहा पाएको बताउँदै उनले, खेल पर्यटनको विकास गर्ने र खेलकुदका माध्यबाट विकास तथा सम्बृद्धि चाहने हो भने, खेल सँस्थाहरु सक्रिय हुनुपर्ने उनको भनाई थियो ।

गण्डकी प्रदेश क्लाईम्बिङ स्पोर्टस् एशोसिएसनको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनका अवसरमा उनले खेलकुद गतिबिधिका लागि योजना बनाउन र काम शुरु गर्न निर्देशन दिँदै उनले खेलकुद क्षेत्रमा काम गर्नका लागि बजेटको अभाव नभएको बताईन् । उनले गत वर्षभन्दा अहिले खेलकुद क्षेत्रमा बजेट बढाईएको दावी समेत गरिन् ।

संघको तदर्थ समितिका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी खेलकुद महासंघ गण्डकीका अध्यक्ष नवराज अधिकारी ले समेत शुभकामना मन्तव्य राखेका थिए भने संघका उपाध्यक्ष अनिल पाण्डे स्वागत मन्तव्य तथा सचिव मनशान्त घिमिरे ले कार्यक्रम संचालन गरेका थिए ।

हिजै भएको निर्वाचन द्वारा शेषकान्त शर्मा सर्वसम्मत अध्यक्ष सहित एघार सदस्यीय प्रादेशिक कमिटी निर्वाचित भएको छ। जस अनुसार उपाध्यक्षद्धयमा अनिल पाण्डे (तनहुँ) र मनु गुरुङ (मनाङ्ग), सचिवमा मनशान्त घिमिरे (लमजुङ), कोषाध्यक्षमा पुष्पा तिलिजा पुन (म्याग्दी) र सहसचिबमा सिद्दार्थ केसि (तनहुँ) साथै सदस्यहरुमा कृपा कुमार गुरुङ (कास्की) सान्ता गुरुङ (गोर्खा), हिरा कुमारी मल्ल (स्याङ्जा) रहेका छन् । दुईजना सदस्यमा बिधान अनुसार गण्डकी प्रदेश खेलकुद परिषदको सिफारिस अनुसार मनोनीत गरिने निर्वाचन मण्डलका संयोजक बिनय थापाले बताए ।