गण्डकीमा तीन सिटका लागि आठको उम्मेदवारी

-


     मर्दी न्युज    
     पुस २३ गते २०८० मा प्रकाशित


पोखरा । राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट ३ जना चुनिनेछन् भने उक्त पदका लागि सोमबार प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गण्डकीमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये दुई सिटमा कांग्रेस र एक सिटमा माओवादीका तर्फबाट मनोनयन दर्ता भएका छन् । कांग्रेसले अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपांगता÷अल्पसंख्यकतर्फ तनहुँका पदमबहादुर परियारले मनोनयन दर्ता गरेका छन् । यसैगरी महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत)ले उम्मेदवारी दर्ता गरेकी छन् ।

नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा)ले उम्मेदवारी दिएका छन् । यस्तै अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमन्त शेरचन (मुस्ताङ)ले उम्मेदवारी दिएका छन् भने महिलातर्फ सम्झना देवकोटा (गोरखा)ले उम्मेदवारी दिएकी छन् ।

यसैगरी, राप्रपाले दुई स्थानमा उम्मेदवारी दिएको छ । राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारीले उम्मेदवारी दिएको छ भने महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएकी छन् ।

आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख÷उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता रहेका छन् । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ ।

यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख रउपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ । गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेको हो । उनको मतभार १९ छ ।