माओवादी केन्द्रले टुङ्ग्यायो कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

-


     मर्दी न्युज    
     फागुन १६ गते २०८० मा प्रकाशित


काठमाडौँ । माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सह इन्चार्ज भएका छन् ।

मधेशमा सचिव लीलामणि पोखरेल इन्चार्ज र सह इन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सह इन्चार्ज चुन्न बाँकी रहेको छ । गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सह इन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी समिति सदस्य कुलप्रसाद केसी सह इन्चार्ज, कर्णालीमा स्थायी समिति सदस्य कालीप्रसाद मल्ल इन्चार्जको जिम्मेवारी दिइएको छ भने सह इन्चार्ज चुन्न बाँकी रहेको छ ।

सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सह इन्चार्ज बनाइएको छ । यस्तै प्रवासतर्फ मध्यपूर्वमा इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल , भारतमा केन्द्रीय सदस्य लक्ष्मण पन्त, युरोप अमेरिकामा सचिव सुरेन्द्रकुमार कार्की रहेका छन् । विशेष प्रदेश समितिमा सचिव हितमान शाक्य रहेका छन् । सह इन्चार्ज स्थायी समिति सदस्य यशोदा सुवेदी रहेकी छिन् ।

कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेको हो ।

“कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो”, बैठकपछि उपमहासचिव शर्माले भने, “विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।”

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनले जानकारी दिए ।

आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजरुपमा लिएको उनले बताए । “पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो”, उनले भने, “मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।”

उपमहासचिव शर्माले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षालगायत पार्टीको आन्तरिक जीवनमा कार्यविभाजनका सन्दर्भमा छलफल भएको जानकारी दिए ।