फेवाताल सिमाङ्कनका लागि पोल गाड्न सुरु

-


     मर्दी न्युज    
     जेठ १७ गते २०८२ मा प्रकाशित


पोखरा । फेवातालको सिमाना (तालघर) मा पिल्लरहरु गाड्न सुरु गरिएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन गरी सिमाक्षेत्रमा क्षेत्रमा पिल्लरहरु गाड्न शुरु भएको हो ।

१३ मंसिर २०८० मा गठित फेवातालको मापदण्ड कार्यान्वयन सहजीकरण समितिका संयोजक तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारीले पिल्लर गाडेर अभियानको थालनी गरेका हुन् ।
फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरणहरू यकिन गरेर तीनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवातालको सिमाना (तालघर) मा पिल्लहरु गाडिएको हो ।

फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न पहिलो चरण अन्तर्गत डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । समितिले गठन गरेको प्राविधिक उप–समितिले यसअघि ताल घर र ६५ मिटर भित्रको मापदण्ड यकिन गरेको थियो । यसै आधारमा तालको चार किल्ला क्षेत्रको सिमानामा १ हजार ५५ वटा भौतिक पिल्लरहरू गाडिने छ ।

दोस्रो चरण अन्तर्गत ताल घरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघिरपछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिनेछ । त्यसपछि ६५ मिटर भित्रको क्षेत्रमा पर्ने जग्गाको अवस्था अध्ययन तथा मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघिरपछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिने समितिले जनाएको छ ।

सर्वोच्च अदालतले पछिल्लो पटक मिति २०८०।०३।०४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्द्धन गर्नु गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो ।