
फोटो: प्रताप गुरुङ
काठमाडौं, भाद्र १ – काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ चरा काँसे घाँसेचरी को अवलोकन भएको छ । अग्रेजीमा ब्रिस्टल्ड ग्रासबर्ड भनिने यस चरा गत साता श्रावण २८ गते बिहिबार मनोहरा खोलाको किनारमा पहिलो ग्रीष्मकालीन कलरमा भेटिएको थियो जुन बयस्क भन्दा भिन्न हुने गर्दछ ।
वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र संजय था श्रेष्ठले मनोहरा खोलाको किनारमा यस चरालाई देखेर तस्वीर खिचेका हुन् । विश्वव्यापी रूपमा संबेदनशील श्रेणीमा पर्ने यो प्रजाति प्रायः भारत उपमहाद्वीपका अग्ला घाँसे मैदान र काँसघारीमा पाइन्छ । यसको बासस्थान नष्ट हुँदै गएकाले संख्या तीव्र गतिमा घटिरहेको छ । प्राय: लुकेर बस्ने बानी भएता पनि प्रजननको मौसममा विशेष आवाज र झाडी बाहिर निस्कने गर्दा सजिलै देखिने पन्छिबिज्ञहरु बताउछन् ।
समन्द्री सतहको २५० मिटर सम्म अभिलेख भएको यस प्रजाती नेपालमा पहिलो पटक सन् १९८६ मा चितवनको राप्ती नदी किनारमा आर यल फ्लेमिंग जुनियर ले भेटेका थिए । गुरुङ, बुढाथोकी र श्रेष्ठको अवलोकनलाई उपत्यकाको चरासूचीमा एक महत्त्वपूर्ण खोजका रूपमा लिइएको छ ।
शहरीकरणले तीव्र रूपमा परिवर्तन गरिरहेको काठमाडौं उपत्यकामा अझै पनि मनोहरा नदी किनारजस्ता घाँसे तथा दलदली क्षेत्रहरू बाँकी छन् । विज्ञहरूका अनुसार, यस्ता साना तर महत्त्वपूर्ण क्षेत्रहरूले दुर्लभ र संवेदनशील चराहरूलाई सुरक्षित आश्रय दिइरहेका छन् ।
उपत्यकामा पहिलो पटक गरिएको यो अवलोकनले बाँकी रहेका घाँसे क्षेत्रहरूको संरक्षण आवश्यकतामा जोड दिएको छ । चराविज्ञ तथा संरक्षणकर्मीहरूले यसलाई आगामी अनुसन्धान, व्यवस्थित अध्ययन र संरक्षणका लागि ठूलो प्रेरणा हुने अपेक्षा गरेका छन् ।
गुरुङ, बुढाथोकी र श्रेष्ठले गरेको दस्तावेजीकरणलाई उपत्यकाको चराविज्ञान इतिहासमा एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यस अवलोकनले काठमाडौं उपत्यका चराप्रेमी समुदायलाई मात्र होइन, सम्पूर्ण संरक्षण क्षेत्रलाई समेत उत्साहित बनाएको छ ।

