
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले यो विषयमा चर्चा भए पनि त्यसले आधिकारिकता नपाएको बताए ।
प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा हुँदा राना उपसभामुख बनेको तर अहिले परिस्थिति फेरिएको उल्लेख गरे । ‘‘सरकारको प्रस्तावमा संसद्ले सभामुख, उपसभामुख गठन गर्ने हो,’’ उनले भने, “उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।”
उपसभामुख हटाउने चर्चा चल्दैमा आकाशै खस्ने भो जसरी नलिन उनले आग्रह गरे ।
सोही कार्यक्रममा मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको दोहोर्याए । सामाजिक सञ्जालमा देखिने विकृति र विसंगति रोक्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको उनको भनाइ थियो । “साइबर अपराध विश्वकै चुनौती हो, नेपालभित्र हुने यस्ता अपराध रोक्न सरकारले कानुन बनाउन लागेको हो,” उनले भने ।
आफ्नो मन्त्रालयको कार्ययोजनाबारे बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित सबै कानुनलाई समयसापेक्ष बनाउन संशोधनको तयारी भइरहेको जानकारी दिए ।

