आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०८२29 मा प्रकाशित


काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण विशेष समारोह राजधानीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न पुस्तक प्रकाशन महत्वपूर्ण योगदान हुने बताउँदै यसको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राजधानीमा शुक्रबार आयोजित पुस्तक लोकार्पण समारोहमा उनले सो कुरा बताएका हुन्  ।

मन्त्री गुरुङले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतामध्ये एकतामा हाम्रो शक्ति निहित छ । आदिवासी जनजातिको मौलिकता र ज्ञानलाई लिपिबद्ध गरी पुस्तकमार्फत भावी पुस्तासम्म पु¥याउनु गौरवको काम हो ।”

यस्तै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार पछिल्लो समय समावेशी र समानुपातिक प्रणालीलाई नेताहरूले नै कमजोर बनाउन लागेकाले त्यसको बचाउ गर्न सम्बद्ध पक्ष एक हुनुपर्ने बताए। ‘कतिपय नेताहरूको बुझाइमा राजनीतिक स्थायित्व नहुनुमा समावेशी प्रणाली बाधक हो भन्ने छ,’ उनले भने, ‘जुन तर्कसंगत छैन। स्थिर सरकारको बाधक समावेशी पक्ष होइन, बरु नेताहरूको कार्यशैलीमा सुधार ल्याउन आवश्यक छ।’  

लामो समयसम्म गरिएको संघर्ष र त्यागपछि मुलुकमा संघीय शासन प्रणाली कायम भएको उल्लेख गर्दै सरकार निर्माणका क्रममा अझै पनि समावेशी प्रणाली लागू हुन नसकेको उनले बताए। आदिवासी जनजातिको ‘मुभमेन्ट’ सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्रै केन्द्रित भएको बताउँदै उनले अब राजनीतिक र आर्थिक गतिविधिलाई पनि जोड दिनुपर्ने धारणा राखे। मन्त्री गुरुङले संघीयता आएपछि सीमान्तकृत समुदायले के–कस्ता उपलब्धि हासिल गरे भन्ने विषयमा तथ्यांकसहित अध्ययन गर्न सुझाव दिए।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिका विषयमा राज्य संवेदनशील नभएको गुनासो गर्दै आदिवासी, जनजातिको हकअधिकार सुरक्षित एवं सुनिश्चित गर्न आवश्यक अध्ययन, अनुसन्धान, छलफल, पैरवी गरी अझ प्रभावकारी र सुदृढ संस्थाका विकास गर्न सक्दो प्रयास भइरहेको जानकारी दिए।  उनले पछिल्लो समय राज्यका नेतृत्वकर्ताबाटै पटक पटक प्रतिष्ठान आवश्यक छैन भन्दै आलोचना गर्नु आदिवासीको समस्याप्रति संवेदनशील नभएको प्रष्ट हुने बताए।

‘आदिवासी जनजाति प्रतिष्ठानलाई अझै बलियो र प्रभावकारी बनाउनुपर्नेमा उल्टै हटाउनुपर्ने धारणा राख्नु आदिवास जनजातिप्रतिको असंवेदनशील बुझाइ हो ।’ उनले भने।

सो अवसरमा प्रा. डा कृष्ण हाछेथुले प्रतिष्ठान आदिवासीको ज्ञान उत्पादन गर्ने संस्था भएकाले यसको आवश्यकता रहेको बताउनुभयो । आदिवासीको ज्ञानसँगै आदिवासीको इतिहासको खोजी र लेखनको काम समेत प्रतिष्ठानले गर्नुपर्ने उनले सुझाव दिए।

डा. जनक राईले प्रतिष्ठानले प्रकाशन गरेको आदिवासी ज्ञान कोष राम्रो दस्तावेज भएको बताउँदै त्यसले आदिवासीको ज्ञान बृद्धि गर्न र अध्ययनकर्ताको सन्दर्भ सामग्रीमा सहयोग पुग्ने बताए। प्रा.डा योगेन्द्र गुरुङ, प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुन लगायतले आदिवासी जनजातिको अवस्था र पहिचानबारे विश्लेषणात्मक विचार राखेका थिए। 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रकाशित कृष्ण हातेक्षुले लेख्नुभएको नेपालका आदिवासी जनजाति ज्ञानकोष भाग १, जाति तथा जाति समूह सम्बन्धी र भाषिक समुदाय सम्बन्धी नेपाल एटलस विमोचन गरेका थिए ।  सो नेपाल एटलस योगेन्द्र गुरुङ, शेरबहादुर गुरुङ, विद्या श्रेष्ठ र तारामणी राईले तयार गरेका हुन् । 

सोही समारोहमा गुरुङहरुको मृत्यु तथा अर्घु परम्परा सम्बन्धि सी पै छ्योए, थारु भाषाको पुस्तौनी, मगर स्थान नाम, मुगा भाषा र फाङ्दुवाली भाषाको वर्ण पहिचान सम्बन्धी पुस्तक र प्रतिष्ठानको मातृभाषासम्बन्धी प्रकाशन थुङको पनि विमोचन गरिएको  थियो । कार्यक्रममा प्रा.डा. कृष्ण हाछेथुं, प्रा.डा. योगेन्द्र गुरुङ र प्रा.डा. जनक राईसमेतले प्रकाशित पुस्तकको समीक्षा गरेका थिए ।