ओसाका घुम्ती सेवामार्फत् १ हजार २ सय २५ जना लाभान्वित

-


     सन थापा    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित


फोटो सौजन्यः शंकर भुसाल

ओसाका, जापान, १७ कार्तिक । नेपाली राजदूतावास जापानको आयोजना एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापान र एनआरएनए क्षेत्रीय समिति कान्साईको सहकार्यमा सञ्चालन गरिएको घुम्ती सेवामार्फत् १ हजार २ सय २५ जना लाभान्वित भएका छन् ।

अक्टोवर १ देखि ३ तारिखसम्म सञ्चालन गरिएको उक्त घुम्ती सेवामा राहदानी नवीकरण, जापानमा जन्मेका बच्चाको पहिलोपटक राहदानी बनाउने, अधिकृत वारेशनामा,राष्ट्रियता, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, नाता प्रमाणीकरण यात्रा अनुमतिपत्र लगायतका कन्सुलर सेवा प्रदान गरिएको एनआरएनए कान्साई संयोजक भिमबहादुर घर्ती (अनुप)ले जानकारी दिए ।

सबैभन्दा बढी राहदानी सम्बन्धी सेवाबाट पहिलोदिन ४ सय ६७, दोस्रोदिन ४ सय ६०, तेस्रोदिन २ सय ९८ जनाले सेवा प्राप्त गरे उनले भने,कान्साई क्षेत्रमा तेस्रो पटक सञ्चालन गरिएको घुम्ती सेवा पहिलो र दोस्रो भन्दा सौहार्द्रपूर्ण रूपमा सफल भयो ।

घुम्ती सेवाको अक्टोवर १ तारिखमा नेपाली राजदूतावास जापानका उप–नियोक प्रमुख काउन्सिलर हरिहरकान्त पौडेलले उद्घाटन गरेका थिए ।

आपतकालीन् अक्षयकोष स्थापना गरिने

राहदानी नवीकरणको व्यवस्थापन खर्च भन्दै भीसा शुल्क बाहेक १ हजार येन लिईएकोमा केही विवादित बन्यो । सेवाग्राहीहरूले पूर्व जानकारी विना व्यवस्थापन शुल्क लिईएकोमा गुनासो गरे । यसैबिच नेपाली राजदूतावास जापानले नोभेम्बर २ तारिखमा एक सूचना जारी गर्दै नियमानुसार तोकिएको दस्तुर बाहेक अन्य रकम नदिन बिचौलिया प्रयोग नगर्न आग्रह गर्यो । यसबारे संयोजक घर्तीले भने, हामीले जबरजस्ति रकम लिएका छैनौं, स्वेच्छाले कसैले १ हजार त कसैले बढी नि दिनुभएको छ ।

राजदूतावासको सहकार्यमा भएकोले सॅंस्थागत निर्णय गरेर पूर्व जानकारी दिन नमिल्ने रहेछ । १ हजार २ सय २५ जना मध्ये ९ सय हाराहारीको सेवाग्राहीले रकम दिनु भएको छ । संकलित रकम नयाँ वर्षमा छुट्टै कार्य समिति बनाएर आपत(विपत् व्यवस्थापन अक्षयकोष स्थापना गर्नेछौ र नेपालीहरूमा आइपर्ने समस्यामा सहयोग गर्नेछौं उनले भने,अन्य क्षेत्र फुकुओकामा ३ हजारसम्म पनि व्यवस्थापन खर्च भनेर उठाइएको छ ।


नेपालीहरूमा आइपर्ने समस्यामा सहयोग आह्वान गर्दा सहयोग गर्छु भनेर बोल्ने तर उठाउदा ४/५महिना कुर्नु पर्ने अवस्था भयो । राहदानी नवीकरण लगायतका कन्सुलर सेवाका लागि टोकियो धाउनु पर्ने बाध्यता हटेकोमा क्योतोबाट राहदानी नवीकरण गर्न गएकी मनिता पराजुलीले खुशी व्यक्त गरिन् ।

तस्विरहरुः सन थापा