अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा आठ देशका ५० खेलाडी प्रतिस्पर्धा गर्दै

-


     मर्दी न्युज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित


पोखरा । पर्यटकीय शहर पोखरामा भोलि बिहीवारदेखि तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१९ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ । प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रबर्धनलाई महत्वपूर्ण टेवा पुराउने विश्वास गरिएको छ ।