पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम सम्पन्न

- ‘मिलेनियम पदमार्गमा पाइने चराहरु’ पुस्तक विमोचन

-


     मर्दी न्युज    
     पुस २० गते २०८२ मा प्रकाशित


पोखरा, २० पुस । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीनदिने चरा पहिचान तालिम सम्पन्न भएको छ ।

गत शुक्रवारदेखि सुरु भएको तालिम आज आइतबार सम्पन्न भएको हो । पदयात्रामा जाने पर्यटकलाई चराहरूका बारेमा जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ विशेषतः गण्डकी प्रदेशका पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जनालाई तालिम दिइएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिंदै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटक पथप्रदर्शकका चरा पहिचान तालिम महत्वपूर्ण सावित हुनेमा आफू विश्वस्त रहेको बताए ।

विशेष अतिथिको मन्तव्य दिँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले तीन दिनको तालिमले बाटो देखाउने कार्यको सुरुवात भएको बताए । धेरैभन्दा धेरै फिल्डमा गएर अभ्यास गरेमा छिटो चरा पहिचान हुने उनको भनाइ थियो ।

प्रशिक्षककातर्फबाट पोखरा पक्षी समाजका सल्लाहकार एवम् नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठन चौधरीले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र प्रयोगात्मक तालिमलाई व्यवहारमा उतार्न आग्रह गरे ।

‘मिलेनियम पदमार्गमा पाइने चराहरु’ पुस्तक विमोचन

समापन कार्यक्रममा ‘मिलेनियम पदमार्गमा पाइने चराहरू’ पुस्तकको विमोचन गरिएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछासम्म फैलिएको ७२ किलोमिटर लामो मिलेनियम पदमार्गमध्ये करिब ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । यही क्षेत्रलाई समेटेर तयार गरिएको पुस्तक ‘मिलेनियम पदमार्गमा पाइने चराहरू’ मा करिब ३०० प्रजातिका चराहरूको विवरण समावेश गरिएको छ ।

सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) नेपालमै मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने क्षेत्रका रूपमा विशेष चासो र चर्चामा आएको छ । स्थलगत अध्ययनअनुसार तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरदेखि रजस्थलसम्मको क्षेत्रमा काँडे भ्याकुर प्रशस्त मात्रामा भेटिएका छन् । साथै, पदमार्ग क्षेत्रकै कोल्मा, भैसेगौँडा तथा बुढाकोट तलतिरका विभिन्न स्थानहरूमा पनि यो चरा ठूलो सङ्ख्यामा पाइने गरेको उल्लेख गरिएको छ ।

यस पदमार्ग क्षेत्रमा सुन, डङ्गर र सेतो गिद्धलगायतका गिद्ध प्रजाति, कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी बाज, बौडाई, कालो चिल, काकाकुल, सिक्रा, वनबाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बीउकुहियो, लेकाली उलुक, कटुसटाउके मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे, काठफोर, लटुसक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरा लगायतका विविध प्रजातिका चराहरू पाइने गरेको पुस्तकमा उल्लेख छ ।

काँडे भ्याकुरसँगै यस क्षेत्रमा अन्य अति सङ्कटापन्न अवस्थामा रहेका केही चरा प्रजातिहरू पनि भेटिने गरेको जनाइएको छ । संरक्षण सूचीमा रहेको लुँइचे तथा विभिन्न मांसाहारी चरा प्रजातिहरू पनि यसै क्षेत्रमा पाइने तथ्य पुस्तकमा समेटिएको छ ।