पोखरामा मापसे गरेर स्कुल बस चलाउने ५ चालक पक्राउ

-


     मर्दी न्युज    
     फागुन ४ गते २०८२ मा प्रकाशित


पोखरा । मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान विद्यार्थी लिन जाने क्रममा रहेका बसहरू जाँच गर्दा मापसे गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलका चालक आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङका गौतम गुरुङ र विन्देश्वरी स्कूलका भक्तबहादुर गुरुङ रहेका छन् ।

यस्तै अंजली बोर्डिङका डम्बरबहादुर गुरुङ र एसओस बोर्डिङका चालक पदम विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।

स्कुल बस जस्तो संवेदनशील क्षेत्रमा चालकहरूले देखाएको यस्तो गैरजिम्मेवारपनले दुर्घटनाको जोखिम बढाएको भन्दै प्रहरीले चेकजाँचलाई थप कडा बनाउने जनाएको छ ।

पक्राउ परेका सबै चालकहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।