
काठमाडौँ । अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाएको विरोधमा देशका विभिन्न शहरमा मसाल जुलुस र कालो झण्डा प्रदर्शन गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षणसहित चेतावनी दिएको हो।
संगठनले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको जनाएको छ। उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता तथा सामाजिक सद्भावमाथि असर पार्ने गतिविधिका रूपमा व्याख्या गर्दै संगठनले आपत्ति जनाएको हो।
नेकपा एमालेले आफ्नो झण्डा जलाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता संलग्न रहेको आरोप लगाउँदै आएको छ भने सम्बन्धित पक्षले भने उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ।
अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
प्रदर्शनका क्रममा बालेन्द्र साहको पुत्लासमेत दहन गरिएको जनाइएको छ।
नेपाल प्रहरीका अनुसार एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न तुलसीपुर उपमहानगरका एक जना पक्राउ परेका छन्।
प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको दाङ जिल्लाको तुलसीपुर उ.म.न.पा.-७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। सामाजिक सञ्जालमार्फत प्राप्त भएको भिडियोको प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।

