
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन् ।
गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्याउन सक्ने बताए । उनले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग जोडिने किसिमको हुनुपर्नेमा जोड दिँदै उच्च शिक्षा पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशिने प्रवृत्ति बढ्दो चिन्ताको विषय भएको बताए ।
शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्नेमा जोड दिए । बजारमुखी, अनुसन्धानमुखी तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयलाई पाठ्यक्रममा समेट्नुपनेमा जोड दिए । उनले विद्यार्थीहरूलाई केवल जानकारी नभइ सोच्ने, विश्लेषण गर्ने र समाधान निकाल्ने क्षमताको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

