
पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा रातिको समयमा पर्यटकहरूलाई दुःख र हैरानी दिएको आरोपमा थप ३ जना महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले उनीहरूलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडको सडकमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक रूपमा दुःख दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न रहेको फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु आइतबार बिहान करिब २स्३० बजेको समयमा पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि पनि सोही क्षेत्रमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले आइतबार बिहान १६ जना महिलाहरूलाई नियन्त्रणमा लिएको थियो ।

