“रनवे रोयल्टी” को पहिलो चरण अडिसन पोखरामा सम्पन्न

-


     मर्दी न्युज    
     वैशाख १२ गते २०८३ मा प्रकाशित


पोखरा । काठमाडौंमा सफल सुरुवातपछि ‘रनवे रोयल्टी’ कार्यक्रमको पहिलो चरण अडिसन पोखरामा सम्पन्न भएको छ। शनिबार पोखराको २०औं स्ट्रीटस्थित बेसक्याम्प बारमा आयोजित अडिसनमा युवायुवतीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।

कार्यक्रमले परम्परागत मोडलिङमा सीमित नरही कन्टेन्ट क्रिएसन, व्यक्तिगत ब्रान्डिङ तथा इन्फ्लुएन्सर विकासलाई समेत प्राथमिकतामा राखेको छ। पहिलो चरणको अडिसनमा कुल १५ जना सहभागीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए, जसले कार्यक्रमप्रति युवापुस्ताको आकर्षण बढ्दो रहेको संकेत दिएको छ।

कार्यक्रमका संस्थापक त्रिलोक विक्रम थापाको नेतृत्वमा सम्पन्न अडिसनमा संकेत बासेल, राशी राज बन्दारी, नितेश विक्रम थापा लगायतको निर्णायक मण्डलले सहभागीहरूको मूल्याङ्कन गरेका थिए। प्रोडक्सन पार्टनरको रूपमा एस्ट्रा प्रोडक्सनले सहकार्य गरेको थियो भने पोखराका लागि प्रोडक्सन हेडको जिम्मेवारी सिद्धार्थ केसीले सम्हालेका थिए।

आयोजकका अनुसार अडिसन प्रक्रिया व्यवस्थित र व्यावसायिक ढंगले सञ्चालन गरिएको थियो। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले कार्यक्रमको आगामी चरणहरू अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

डिजिटल अडिसन आगामी १४ मे २०२६ (३१ वैशाख २०८३) सम्म खुला रहने जनाइएको छ भने अर्को चरणको अडिसन मिति चाँडै सार्वजनिक गरिनेछ।

आगामी दिनमा ‘रनवे रोयल्टी’लाई नेपालका सात प्रमुख शहरहरूमा विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रतिभाहरूलाई समेट्दै अन्तर्राष्ट्रिय स्तरको ग्रान्ड फिनाले आयोजना गरिने तयारी गरिएको छ।

आयोजकले ‘रनवे रोयल्टी’लाई केवल मोडलिङ प्लेटफर्म नभई नयाँ पुस्तालाई आत्मविश्वास, सिर्जनशीलता र व्यक्तिगत पहिचान निर्माण गर्ने अवसर प्रदान गर्ने अभियानका रूपमा अगाडि बढाइएको बताएका छन्।