
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो भू-भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा उच्च रहने सम्भावना औँल्याएको छ।
ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा विभागले मनसुन २०८३ को सम्भावित अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईँले प्रस्तुत गरेको विवरणअनुसार यस वर्ष देशका अधिकांश क्षेत्रमा वर्षा औसतभन्दा कम हुने संकेत देखिएको छ, यद्यपि भौगोलिक क्षेत्रअनुसार अवस्था फरक रहनेछ।
विभागको प्रक्षेपणअनुसार कर्णाली प्रदेशका दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
त्यस्तै, कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ।
यता, सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, मधेश प्रदेशको पश्चिमी क्षेत्र तथा कोशी प्रदेशको मध्य भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
तापक्रमतर्फ पनि मनसुन अवधिभर देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् हुमागाईँले बताए। उनका अनुसार तापक्रम वृद्धि हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
विभागले सार्वजनिक गरेको यो मौसमी प्रक्षेपण आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिलाई आधार मानेर तयार गरिएको हो।


