
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्यांगसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

