सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व संकलन

-


     रासस    
     जेठ ५ गते २०८३ मा प्रकाशित


गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु. ४४ लाख आठ हजार ५०० राजस्व संकलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । 

ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन  दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए । 

बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको उनको भनाइ छ । चालकले सवारी चालक अनुमतिपत्र नलिई चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ । 

“मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ”, प्रहरी निरीक्षक देवकोटाले भने, “जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सवारीसाधन जाँच गर्दै आएको छ ।” 

सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।