गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ बाट

-


     मर्दी न्युज    
     जेठ ५ गते २०८३ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन अपराह्न २ बजे अधिवेशन आह्वान गरेका हुन् ।

जेन्जी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभा सचिवालय जलेर ध्वस्त भएपछि यसपटकको अधिवेशन पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने तयारी भएको छ । सचिवालय अहिले रामघाटस्थित तत्कालीन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सरेको भए पनि त्यहाँ सभा सञ्चालनका लागि हल नभएका कारण मन्त्रालयको हल प्रयोग गर्न लागिएको हो ।

प्रदेश सभाका सचिव गोबिन्द पौडेलले बैठकको तयारीका लागि आवश्यक भौतिक तथा प्राविधिक व्यवस्थापन भइरहेको बताए । उनले भने, ‘हामीले उपलब्ध स्रोत र साधनको प्रयोग गरी कृषि मन्त्रालयको हलमा बैठकका लागि तयारी गरिरहेका छौं ।’

आन्दोलनले भौतिक क्षति पुर्याएपछि गण्डकी प्रदेश सभाले पहिलो पटक वैकल्पिक स्थानमा बैठक बस्ने वातावरण मिलाएको छ । सचिव पौडेलले जेठ ११ गतेको बैठकमा प्रदेशका नीतिगत र समसामयिक विषयमा छलफल हुने जानकारी दिए । बैठक व्यवस्थापनका लागि मन्त्रालयको हललाई सभाको स्वरुप दिने गरी काम अघि बढाइएको उनले बताए ।