ह्वाइट हाउस नजिकै गोली चल्यो

-


     मर्दी न्युज    
     जेठ १० गते २०८३ मा प्रकाशित


अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ। शनिबार साँझ ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका हुन्।

अमेरिकी सिक्रेट सर्भिसका अनुसारएक व्यक्तिले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए। लगत्तै सुरक्षाकर्मीहरूले जवाफी फायर गर्दै ती व्यक्तिलाई गोली हानेका थिए।

जवाफी कारबाहीमा गोली हानेपछि उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। गोली लागेका संदिग्धलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो।

घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्।

तर उनको अवस्था कस्तो छ भन्ने स्पष्ट भइसकेको छैन। घाइतेलाई लागेको गोली कसले चलाएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

रोयटर्सका अनुसार, ती व्यक्ति मानसिक रूपमा अस्थिर रहेको र यसअघि उनलाई उक्त क्षेत्रबाट टाढा रहन आदेश जारी गरिएको एक सुरक्षा अधिकारीले बताएका छन्।

घटनामा कुनै सुरक्षाकर्मी घाइते नभएको जनाइएको छ। घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए।

साँझ करिब ६:१५ बजे ह्वाइट हाउस परिसर वरपर लगातार गोलीको आवाज सुनिएको थियो।