
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग ले उक्त डिजिटल सेवा सुरु गरेको हो।
परराष्ट्र मन्त्री शिशिर खनालले आयोजित कार्यक्रममा एपको औपचारिक उद्घाटन गरेका थिए। मन्त्रालयका अनुसार विदेशमा रहेका नेपाली नागरिक तथा उनीहरूका परिवारजनले स्मार्टफोनमार्फत एप प्रयोग गरी गुनासा, समस्या तथा आवश्यक सहयोगसम्बन्धी जानकारी पठाउन सक्नेछन्।
कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाले एपमार्फत विदेशमा रहेका नेपालीका उजुरी, उद्धारसम्बन्धी अनुरोध तथा अन्य कन्सुलर सेवासम्बन्धी कार्य थप सहज हुने बताइन्।
हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीमा उजुरी दर्ता भएपछि विभागमार्फत सम्बन्धित नेपाली नियोगमा पठाइने व्यवस्था रहेको भए पनि नयाँ एपमार्फत सम्बन्धित नियोगमा सिधै जानकारी पठाउन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।
उद्घाटन कार्यक्रममा मन्त्री खनालले विदेशस्थित नेपालीलाई राज्यको सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको बताए। उनले आपत्कालीन अवस्था, समस्या समाधान तथा उद्धारसम्बन्धी समन्वयमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विभागका अनुसार सूचना प्रविधिको प्रयोगमार्फत कन्सुलर सेवा नागरिकको पहुँचमा पुर्याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको हो।

