
बजेटपछिको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा झरेको हो ।
सरकारले बजेटमा आर्थिक विधेयकमार्फत पूँजीगत लाभकर दुई प्रतिशत विन्दुको वृद्धि गरेपछि साना लगानीकर्ताहरू निरुत्साहित भएका छन्। आयकर ऐन २०५८ को दफा ९५ को उपदफा (२) मा संशोधन गर्दै अल्पकालीन लगानीकर्ताका लागि करको दर साढे ७ प्रतिशतबाट बढाउर १० प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत कायम गरिएको छ। जसको कारण सोमबारको बजारमा गिरावट आएको लगानीकर्ताहरूको बुझाइ छ।
सोमबार तीन सय ४९ कम्पनीको एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर रु पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मूल्यमा किनबेच भएको छ । कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । नेपाल पुनरबीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार नेपाल पुनरबीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सिटिजन बैंकको डिवेञ्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंकको डिवेञ्चरका लगानीकर्ताले आज कमाएका छन् । त्यस्तै, बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।
कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य मात्रै वृद्धि भएको छ भने ११ उपसमूहका घटेका छन् ।

