
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचकमा गिरावट देखिएको छ। बजार परिसूचक नेप्से २०.२७ अंकले घट्दै २७३५ बिन्दुमा कायम भएको छ।
यसअघि पनि बजार लगातार दबाबमा रहँदै आएको थियो। शुक्रबार ११ अंक र बिहीबार १३ अंकले नेप्से घटेको थियो।
आज कारोबार सुरु भएको केही मिनेटमै ओरालो लागेको बजार दिनभर नै नकारात्मक दायरामा रह्यो र अन्त्यसम्म पनि सुधार देखाउन सकेन।
बजारको समग्र प्रदर्शनमा ४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको तथ्यांक छ।
कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज घटेर ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ, जसअनुसार करिब डेढ अर्ब रुपैयाँले कारोबार संकुचित भएको देखिन्छ।

