गृहमन्त्रीमा गुरुङको पुनरागमन, महावीर पुन मन्त्री बन्दै

-


     मर्दी न्युज    
     जेठ २६ गते २०८३ मा प्रकाशित


प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ ।

गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।

यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । सरकारले हालै कार्यविभाजन पुनर्संरचनाअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो ।

नयाँ मन्त्रालयमार्फत विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी सरकारी कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने अपेक्षा गरिएको छ । महाविर पुनको नियुक्तिसँगै अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तन प्रवर्द्धनका विषयमा सरकारको प्राथमिकता थप स्पष्ट हुने सरकारको बुझाई छ ।