भेनेजुएला भूकम्प अपडेट: मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो

-


     मर्दी न्युज    
     असार १२ गते २०८३ मा प्रकाशित


एजेन्सी । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा ५८९ जनाको मृत्यु भएको र करिब चार हजार भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।

तर भेनेजुएलाका सरकारी अधिकारीहरुले भने मृत्यु हुनेको संख्या करिव ३ सयको हाराहारी रहेको तथ्याङ्क सार्वजनिक गरेका छन ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताएका थिए । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।