शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव (फोटो फिचर)

-


     मर्दी न्युज    
     असार १४ गते २०८३ मा प्रकाशित


पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ संस्करणको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन् । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गरिएको हो । परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो।

महोत्सवमा हलगोरु दौड, असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड र रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिएको थियो।

यस्तै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसीलगायतको सांगीतिक प्रस्तुति दिए ।

परिषद्का महासचिव जीवनराज सापकोटाले कृषि, पर्यटन र स्थानीय संस्कृतिको संरक्षणसँगै कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार परम्परागत धान खेती प्रणाली जोगाउने, युवापुस्तालाई कृषिप्रति आकर्षित गर्ने र बाँझो जमिन उपयोगमा ल्याउन महोत्सवले प्रेरणा दिने विश्वास गरिएको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने माध्यमका रूपमा रोपाइँ महोत्सवले पोखराको पहिचानलाई थप बलियो बनाएको बताए। किसानको मेहनतले कृषि, अर्थतन्त्र र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुगेको उनको भनाइ थियो।

महोत्सवका अवसरमा महानगरले ज्ञानबहादुर कार्की र कमला पाल्पाली खड्कालाई उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। दुवैलाई नगदसहित सम्मानपत्र प्रदान गर्दै कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरिएको महानगरले जनाएको छ।

फोटो फिचरः