
मिटर ब्याजसम्बन्धी समस्या समाधानका विषयमा सरकार र पीडित पक्षबीच चौथो चरणको वार्ता सुरु भएको छ।
बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको सहभागितामा बुधबार राति करिब सवा ८ बजेदेखि वार्ता प्रारम्भ भएको हो।
यसअघि सरकार र मिटरब्याज पीडित पक्षबीच मंगलबार रातिसम्म तीन चरणमा छलफल भइसकेको थियो। ती वार्तामा पीडितका माग, समस्या र समाधानका सम्भावित उपायबारे छलफल भएको थियो।
गृहमन्त्री गुरुङले प्रारम्भिक चरणमा पीडितका गुनासा र मागबारे जानकारी लिएपछि आन्दोलनको नेतृत्वसँग क्रमशः पहिलो, दोस्रो र तेस्रो चरणको संवाद गरेका थिए। यद्यपि तेस्रो चरणको वार्ता कुनै सहमतिमा पुग्न नसकी निष्कर्षविहीन टुंगिएको थियो।
सरकार र पीडित पक्षबीच जारी पछिल्लो वार्ताबाट समस्या समाधानका लागि सहमतिको आधार तय गर्ने प्रयास भइरहेको छ।

