गोरखामा पहिरोले तीनतले घर पूर्ण रूपमा ध्वस्त, एक जना घाइते

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित


गोरखाको लक्ष्मीबजारमा अविरल वर्षापछिको पहिरोले घर बगाएको छ।

गोरखा नगरपालिका ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटोमा दिवामार्गमा स्थानीय मानसिंह गुरूङको तीन तले घर बगाएको हो ।

सडकसँगै रहेको घर पहिरोले बगाएर करिब २० मिटर तल पुगेको छ। पहिरो जाँदा घरमा एक जना मात्रै थिए। डेरा गरी बसेका रौतहट कटहरिया नगरपालिका ७ घर भएका टोखान महतो सामान्य घाइते भएका छन्। 

उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरो नजिकै रहेको अर्को एक पक्की घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोले घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि स्थानीयवासी त्रसित बनेका छन्। अविरल वर्षाका कारण गोरखासहित देशका विभिन्न पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।