
पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार स्वदेश ल्याइएको छ ।
आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजको उडानमार्फत काठमाडौँ ल्याइएको हो ।
उनीहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।
गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी उनीहरूसहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्त’ र नवाङ थिन्डु शेर्पाको पनि निधन भएको थियो । उक्त घटनामा छ नेपालीसहित अन्य चार जनाले ज्यान गुमाएका थिए ।
मृतकमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’को शव साउन २१ गते नेपाल ल्याइएको थियो । उनको स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ ।
निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने भएको छ । नवाङ थिन्डु शेर्पाको शव भने भौगोलिक कठिनाइका कारण हालसम्म संकलन गर्न नसकिएको जनाइएको छ ।

