आज आतंकवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०८३ मा प्रकाशित


आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासभाले आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतंकवादका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ । 

संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतंकवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतंकवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रवर्द्धन तथा पीडितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्त्वपूर्ण भूमिकालाई जोड दिँदै आएका छन् । 

सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतंकवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतंकवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्त्वपूर्ण प्रयास हुन् । 

सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतंकवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ । प्रस्तावले सदस्य राष्ट्रलाई आतंकवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ ।

सन् २०२२ सेप्टेम्बरमा  राष्ट्रसंघको मुख्यालयमा पहिलो विश्वव्यापी आतंकवाद पीडित सम्मेलन आयोजना गरिएको थियो । राष्ट्रसंघीय आतंकवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम र ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत आतंकवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ ।

राष्ट्रसंघीय आतंकवादप्रतिरोध कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसंघीय निकायलाई आतंकवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । साथै, पीडितलाई सहयोग गर्न नागरिक समाज र निजी क्षेत्रका संस्थासँगको सहकार्यलाई पनि यो संस्थाले प्रोत्साहन गरेको छ ।