
नुवाकोटका विस्थापित परिवार तथा अस्थायी आश्रयस्थलमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण
नुवाकोट — भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पीडामा मलम लगाउने उद्देश्यले कर्मफ्लाइट्स फाउन्डेसन नेपालले नुवाकोटका विभिन्न क्षेत्रमा करिब १४ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।
बाढीले सडक, पुल तथा यातायातका संरचनामा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्याउनु आफैंमा चुनौतीपूर्ण बनेको थियो। क्षतिग्रस्त सडक, अवरुद्ध मार्ग र कठिन भूगोल पार गर्दै पोखराबाट तीनवटा जिपमा राहत सामग्री बोकेर फाउन्डेसनको टोली नुवाकोट पुगेको हो। लामो र कठिन यात्रापछि ढुंगे आसपास, त्रिशूली नदी करिडोर तथा विभिन्न अस्थायी होल्डिङ सेन्टर र आश्रयस्थलमा पुगेर विस्थापित परिवारसम्म राहत सामग्री पुर्याइएको थियो।

फाउन्डेसनका निर्देशक प्रेमबहादुर कुँवरको नेतृत्वमा सञ्चालित अभियानमा चामल, दाल, चना, चिउरा, सातु, खानेतेल, चाउचाउ, बालबालिकाका लागि लिटो, त्रिपाल, कम्बल, महिला तथा बालबालिकाका कपडा, चप्पल, डायपर, टूथब्रस, टूथपेस्ट, नेलकटर, स्यानिटरी प्याड, टर्चलाइट, मोबाइल चार्जिङ सामग्री, मल्टिप्लग तथा खाना पकाउने भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको थियो।
राहत अभियानमा फाउन्डेसनका फिल्ड कोर्डिनेटर राजु परियारले स्थलगत व्यवस्थापन तथा वितरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। त्यस्तै, कर्मफ्लाइट्सका आईटी अफिसर तथा मेटल फर नेपालका लायजन सुभाष पौडेलले कार्यालयस्तरीय समन्वय तथा मेटल फर नेपालसँगको सम्पर्कमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पहिलो दुई दिनमै २५० भन्दा बढी प्रभावितलाई राहत
अभियानको पहिलो दुई दिनमा बिदुर नगरपालिका क्षेत्रका विभिन्न अस्थायी होल्डिङ सेन्टर तथा आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिकसहित २५० भन्दा बढी व्यक्तिलाई राहत सामग्री उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ।
बिदुर नगरपालिका–५ देविघाटस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयको अस्थायी होल्डिङ सेन्टरमा ६० वटा त्रिपालसहित खाद्यान्न, कपडा, बालबालिकाका सामग्री तथा सरसफाइका सामग्री वितरण गरिएको थियो। उक्त कार्यको समन्वय जिल्ला समन्वय समिति सदस्य राजेन्द्र श्रेष्ठले गरेका थिए।
त्यसैगरी, बिदुर–१ सिमटारस्थित आमा–बुवा आश्रमको अस्थायी होल्डिङ सेन्टरमा रहेका २७ विस्थापित परिवारका १५० भन्दा बढी सदस्यलाई परिवारको आवश्यकताअनुसार खाद्यान्न, त्रिपाल, कम्बल, कपडा, सरसफाइ सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराइएको थियो।

बाढीका कारण घर पूर्ण रूपमा गुमाएका पाँच परिवारलाई थाल, कप, खाना पकाउने भाँडाकुँडालगायतका घरेलु सामग्रीसमेत प्रदान गरिएको थियो। घर, सम्पत्ति र दैनिक जीवनका आधार गुमाएका परिवारका लागि यी सामग्री केवल राहतका सामान नभई पुनः सामान्य जीवनतर्फ फर्कने एउटा सानो आशाका रूपमा पुगेका थिए।
फाउन्डेसनले बिदुर नगरपालिका–४ स्थित ज्येष्ठ नागरिक आश्रयस्थल तथा नुवाकोट कभर्ड हलमा सञ्चालित अस्थायी होल्डिङ सेन्टरमा पनि त्रिपाल, कम्बल, खाद्यान्न, बालखाद्य, डायपर, टर्चलाइट, मोबाइल चार्जिङ सामग्री तथा सरसफाइका सामग्री हस्तान्तरण गरेको छ।
बाढीका कारण विद्युत् आपूर्तिमा समस्या भएपछि बिदुरस्थित केन्द्रीय कारागारलाई एक जेनेरेटरसमेत उपलब्ध गराइएको जिल्ला समन्वय समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए।
राहत मात्र होइन, विपद्मा साथ दिने प्रयास
कर्मफ्लाइट्स फाउन्डेसन नेपालले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख नगद सहयोग गरिसकेको छ। खोज, उद्धार तथा तत्कालीन राहत कार्यमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
राहत अभियानमा मेटल फर नेपाल यूकेको प्रमुख सहयोग रहेको छ। मेटल फर नेपालसँगको स्थलगत तथा संस्थागत समन्वयमा संस्थाका प्रमुख फ्लावर केसी र शिल्पा मास्केले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस्तै, पोखरा–१७ स्थित मामु छोरीबाट समेत सहयोग प्राप्त भएको फाउन्डेसनले जनाएको छ।
विदेशमा रहेका साथीभाइ, शुभेच्छुक तथा विभिन्न सहयोगदाताको साथ र सहयोगले अभियानलाई निरन्तरता दिन थप हौसला मिलेको फाउन्डेसनले जनाएको छ।
स्थानीय समन्वयमा राहत वितरण
राहत सामग्री स्थानीय तह, जिल्ला समन्वय समिति, गैरसरकारी संस्था तथा स्थानीय स्वयंसेवकसँगको समन्वयमा वितरण गरिएको थियो।
राहत वितरणमा नुवाकोट जिल्ला समन्वय समितिका सदस्य राजेन्द्र श्रेष्ठ, गैरसरकारी संस्था महासंघ नुवाकोटका प्रतिनिधि विनोद लामिछाने तथा सन्दीप थपलिया लगायतले स्थानीय समन्वय र वितरणमा सहजीकरण गरेका थिए।
फाउन्डेसनका निर्देशक प्रेमबहादुर कुँवरले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उनीहरूसम्म पुर्याउनु अभियानको मुख्य प्राथमिकता रहेको बताए।
“विपद्को समयमा एउटा परिवारलाई तत्काल चाहिने सामग्री नै सबैभन्दा महत्वपूर्ण हुन्छ। खाना, ओत, कपडा, कम्बल, सरसफाइ सामग्री र उज्यालोका लागि टर्चजस्ता सामग्रीले प्रभावित परिवारका लागि ठूलो अर्थ राख्छन्।” कुँवरले भने।
उनका अनुसार राहत अभियान तत्कालीन सहयोगमा मात्र सीमित रहने छैन। प्रभावित समुदायको वास्तविक आवश्यकता मूल्याङ्कन गरी पुनःस्थापना र पुनर्निर्माणका चरणमा समेत सहयोग गर्ने योजना फाउन्डेसनले बनाएको छ।
कठिन बाटो छिचोल्दै पुगेको राहत
भोटेकोशीको बाढीले भौतिक संरचनामा मात्र क्षति पुर्याएको छैन, सयौं परिवारको घर, रोजगारी, सम्पत्ति र सुरक्षित भविष्यको आधारसमेत हल्लाइदिएको छ। कतिपय परिवार अहिले अस्थायी आश्रयमा दिन बिताउन बाध्य छन्। यस्तो अवस्थामा पोखराबाट राहत सामग्री बोकेर नुवाकोटसम्मको यात्रा सहज थिएन।

क्षतिग्रस्त सडक, जोखिमपूर्ण बाटो र अवरुद्ध मार्ग छिचोल्दै राहत बोकेका सवारीसाधन प्रभावित क्षेत्रतर्फ अघि बढिरहे। लामो यात्राको थकानभन्दा पीडित परिवारसम्म आवश्यक सामग्री पुर्याउने उद्देश्य ठूलो थियो। अन्ततः राहत सामग्री उनीहरूका हातमा पुग्दा त्यो केवल खाद्यान्न वा त्रिपाल थिएन—विपद्को अँध्यारोबीच टाढाको शहरबाट आएको मानवीय साथ र आशाको सन्देश थियो।
फाउन्डेसनले भोटेकोशी बाढी प्रभावित परिवारका लागि सञ्चालन भइरहेको राहत अभियानमा अझै सहयोग आवश्यक रहेको जनाएको छ। देश तथा विदेशमा रहेका व्यक्ति, संस्था, शुभेच्छुक तथा सहयोगदातालाई अभियानमा जोडिन फाउन्डेसनले अपिल गरेको छ।
“हामी आवश्यकतामा रहेका मानिसहरूसँगै छौँ। यो विपद्मा सबैको सानो सहयोगले ठूलो प्रभाव पार्न सक्छ,” फाउन्डेसनले जनाएको छ।

