
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा एक महिलाले अस्पताल परिसरनजिकै सडकमा बच्चा जन्माउनुपरेको घटना प्रतिनिधि सभामा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे सदनको ध्यानाकर्षण गराउँदै स्वास्थ्य संस्थाबाटै आधारभूत उपचार तथा प्रसूति सेवा प्राप्त गर्न नसक्नु गम्भीर विषय भएको बताएका हुन्।
सांसद कर्णका अनुसार राजविराज नगरपालिका-१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो। तर उनीसँग उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालमा भर्ना हुन नपाएको उनको भनाइ छ।
कर्णले बबिता पासवानसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र सो रकमका कारण अस्पतालले भर्ना लिन अस्वीकार गरेको दाबी गरेका छन्। त्यसपछि ती महिलाले अस्पतालबाहिर फुटपाथमै बच्चा जन्माउनुपरेको विषय उनले संसदमा प्रस्तुत गरेका हुन्।
सांसद कर्णले आर्थिक अभावका कारण गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा नपाउने अवस्था कसरी सिर्जना भयो भन्नेबारे सरकारसँग जवाफ मागेका छन्। उनले घटनाको सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक जानकारी लिई सेवा प्रवाहको अवस्थाबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

