पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) का खेल अन्तर्गत पोखरामा हुने खेल हेर्नको लागि प्रवेश शुल्क तय गरिएको छ । पोखरामा हुने साग खेलको लागि साधारण टिकट १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापनअन्तर्गत स्रोत साधन परिचालन समितिले गत सोमबार टिकटको शुल्क निर्धारण गरेको हो । ।
साधारण र सिजनल टिकट लिएरै पोखरा रंगशाला परिसरभित्र छिर्ने अवसर यहाँका दर्शकले पाउने छन् । अन्यथा टिकटबिना साग खेल हेर्नबाट सर्वसाधारण बन्चित हुने छ । ‘साधारण १ सय रुपैयाँ र सिजनलको लागि ५ सय रुपैयाँ तोकिएको छ ।’ समितिका संयोजक सञ्जिबबहादुर कोईरालाले भने–‘साधारणले टिकट लिएका दर्शकले एकदिन मात्रै हेर्न पाउँछन् भने अन्य दिनको लागि पुनः टिकट लिनुपर्छ । सिजनल टिकट लिनेले साग प्रतियोगिता अवधिभर हेर्न पाउने छन् ।’
१३ औं साग खेल अन्तर्गत पोखरामा ८ वटा खेल हुनेछ । जसमध्ये पोखरा रंगशालाभित्र ५ अर्थात् महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्डबल र व्याडमिन्टन हुनेछ । भारोत्तोलन पोखरा–११ माटेपानीस्थित एसआरकेसी पार्टी प्यालेसमा, विच भलिबल र ट्रायथोलन लेकसाईडमा आयोजना हुनेछ । ट्रायथोलन बाहेक अन्य सबै खेलमा दर्शकले टिकट लिएपछि मात्रै प्रवेश पाउने बताइएको छ । महिला फुटबलको फाईनलको लागि भने २ सय रुपैयाँ तोकिएको कोइरालाले बताए । ‘सुरक्षाको दृष्टिकोणले पनि टिकटको व्यवस्था गर्नुपरेको हो ।’ उनले भने–‘टिकट नलिदाँ भद्रगोल हुने सम्भावना देखियो ।’ दर्शकलाई अनुशासित र मर्या्दित बनाउन पनि टिकको व्यवस्था गरिएको बताए । ट्रायथोलन बाहेकका ७ खेलको लागि शुल्क तय गरिएको हो ।