
पोखरा, १ पुस ।
‘सबैको लागि गुणस्तरीय शिक्षा’ भन्ने मुल नारालाई आत्मसात गरी पोखराको मासबारमा रहेको मदरल्याण्ड माविले विभिन्न कार्यक्रम गरी सोमबार २५ आंै वार्षिकोत्सव तथा रजतजयन्ती समारोह मनाएको छ ।

पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा शान्तिका प्रतीक एक जोडी परेवा उडाएर पहिलो दिनको समुद्घाटन गरिएको थियो भने दोस्रो दिन सोमबार रजतजयन्ती समारोहका समापनमा प्रमुख अतिथि मानबहादुर जिसीले विद्यालयले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै महानगरको कार्वन फ्रि अभियानमा निजी विद्यालयले पनि साथ दिनुपर्ने कुरामा जोड दिएका थिए । उनले विद्यालयले ठूलाठूला चुनौतीहरूको सामना गर्न सक्ने जनशक्ति उत्पादनमा सघाउनुपर्ने कुरा व्यक्त गरेका थिए ।
पृथ्वीनारायाण बहुमुखी क्याम्पसका प्रमुख प्राडा चन्द्रबहादुर थापाले विद्यालयद्वारा प्रकाशित रजतजयन्ती स्मारिका विमोचन गरे ।

अध्यक्षको आसनबाट विद्यालयका संस्थापक निर्देशक तथा रजतजयन्ती मूल समितिका संयोजक डा त्रिभुवन शर्माले सम्पूर्णमा धन्यवाद व्यक्त गरे । उनले विद्यालयले २५औँ वसन्त पार गरिरहँदा विगतमा भोगेका अप्ठ्यारा र सबल पक्षको स्मरण गरे ।
कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख विष्णुनारायण श्रेष्ठ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, विद्यालयका शुभचिन्तक तथा अभिभावक भोलानाथ पौडेल लगायतले उत्पादित जनशक्तिको कार्यदक्षता, प्रभावकारिता र निरन्तरतामा जोड दिए ।

बालबालिकाका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रममा दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले आफ्नो क्षमतामा आधारित देशप्रेम, संस्कार र संस्कृति, समाज सुधार, आदि विषयसँगसम्बन्धित गीत, कविता, नाटक, नृत्य आदि जस्ता विभिन्न विधामा प्रस्तुति राखेका थिए ।

विद्यालयबाट दीक्षित भएर उच्च शिक्षा तथा सरकारी सेवामा विशिष्ट उपलब्धि हाँसिल गरेका ४४ जना भूपू विद्यार्थीहरूलाई एउटै मञ्चमा सम्मान गरिएको यस कार्यक्रममा विद्यालयमा अप्रत्यक्षरूपमा पर्दा पछाडिबाट विद्यालयको विकासमा योगदान पु¥याउने ५ जना व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । विद्यालयले २० वर्षभन्दा बढी सेवा गरेका १० जना शिक्षकलाई दीर्घसेवा पदकबाट पनि सम्मान गरिएको थियो ।
सभ्य र भव्य रूपमा आयोजित यस समापन समारोहको सञ्चालन दुवै दिन विद्यार्थीहरूका साथ प्रा.वि. इन्चार्ज केशु शर्मा र शिक्षक अन्तिम गुरुङले गरेका थिए ।
रजतजयन्तीको अवसरमा विद्यालयमा रहेको विद्यार्थी कल्याणकारी कोषबाट ५० हजार ५ रुपैयाँ उपचार वापतको साढे ३ लाख रुपैयाँ बुझाउन नसक्दा अस्पतालमै बन्धक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाकी ललीतादेवी खंगलाई सहयोगार्थ कान्तिपुरका पत्रकार लालप्रसाद शर्मालाई हस्तान्तरण गरिएको थियो ।