मिलेनियम पदमार्गको सौन्दर्य

-


     मर्दी न्युज    
     २ पुस २०७६ मा प्रकाशित


Millenniun Trek

घुमन्ते समूह चार दिनसम्म भैंसेगौंडामै

पोखरा । मिलेनियम पदमार्गको कोल्माकोटदेखि पेल्काचौरको मनकामना मन्दिरसम्म यात्रा गर्न त्यसै पनि रमाइलो र घुमौं–घुमौं लाग्ने ठाउँ । मौसम खुलेका बेला स्थानीयलाई मात्र नभई त्यहाँ पुग्ने जो कोहीलाई पनि ज्यादै आकर्षक लाग्छन् यहाँका डाँडाकाँडा र हिमश्रृङ्खलाका दृश्य । यहाँका मानिस त अझ यहाँको सौन्दर्यमा नलोभिने कुरै भएन । हुन पनि, बाहिरबाट आउनेको मनै फुरुंग पार्ने अनगिन्ती ठाउँ छन् यहाँ । त्यही भएर नै आकास छ्यांग खुल्नेबित्तिकै हिमश्रृङ्खलाको लामो दृश्य हेर्न यो पदमार्गमा अझ उपयुक्त ठाउँ हो ।

फोटोः खेम गुरुङ

हिउँदको मौसममा बिहान उठ्ने वित्तिकै तल फाँटमा देखिने कुहिरोको दृश्य अर्थात् ‘ह्वाइट लेक’ले छुट्टै आनन्द दिन्छ । धौलागिरी हिमश्रृङ्खला, अन्नपूर्ण हिमश्रृङ्खलादेखि मनास्लुभन्दा परसम्मको आँखाले ठम्याउनेसम्मको हिमश्रृङ्खलाको दृश्यले सबैको मन लोभ्याउने गर्छ । त्यहाँको आतिथ्यता, साँस्कृतिक विविधताले जो कोहीलाई पनि लोभ्याउने गर्दछ ।

हालै मात्र मिलेनियम पदमार्ग प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी कार्य अघि बढेको सोलुसनले ‘घुमन्ते’को समूहलाई लिई ४ दिनसम्म भैंसेगौडास्थित सामुदायिक घरबासमा नै रोकियो । यहाँबाट देखिने प्राकृतिक दृश्य, शान्त वातावरणले पनि घुमन्तेलाई केही दिन नबसी अगाडि बढ्न मनै लागेन । मंसिर २८ गतेदेखि १ गतेसम्ममा पुतलीबजार नगरपालिकाको भैंसेगौंडामा बिताएको घुमन्ते ४ दिनको बसाई पछि मात्र अघि बढेको छ ।

भैंसेगौंडाको राङभाङस्थित रहेको ‘भ्वाङ’मा ‘एड्भेन्चर’समूहले घुमन्तेलाई लिएर गएको पनि थियो । त्यसपछि धोवादी भञ्ज्याङ हुँदै चन्द्रकोट, कोइफेरा, पेल्काचौर मनकामना मन्दिर, नकुचु धाम, भूत गुफाको क्यामरामा कैद गरी पुस २ गते घुमन्तेको समूह बुढाकोट पुगेको छ ।

मिलेनियम पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट शुरु भई स्याङ्जाको वालिङ रामबाच्छासम्म ७२ किलोमिटर छ । यो पदमार्ग जुनसुकै मौसमको लागि पनि उपयुक्त मध्यपहाडी पदमार्ग हो ।

सन् २००० बाट खुलेकोले यसको नाम पनि मिलेनियम (सहस्राब्दी) राखिएको हो । पदयात्रा मार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ । ६ रात ७ दिनमा ट्रेक पूरा गर्न सकिन्छ ।

पदयात्रा पुग्ने पर्यटकले कोल्माकोट, भैंसेगौंडा, फारथुँ, बुढाकोटबाट एकसाथ धवलागिरी, अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।

पदयात्रा मार्गमा १७ गाउँमा सामुदायिक होमस्टे छन् । पर्यटकले होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाउँछन् ।