मिलेनियम पदमार्ग प्रचारको लागि ‘मण्डला र घुमन्ते’

-


     मर्दी न्युज    
     पुस ३ गते २०७६ मा प्रकाशित


Gahate Manakamana

पोखरा, ३ पुस । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्गलाई भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यापक प्रचारप्रसार गर्न वेभसाइट डिजाइन तथा घुमन्ते लगी युट्युबमार्फत प्रचारप्रसार गर्न लागेको छ । यस पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकासको लागि मण्डलाआईटी सोलुसन र घुमन्ते समूहलाई पदमार्गको भ्रमण आज विहीबार सकाएको छ ।

तनहँुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्गमा उक्त समूहलाई मंसिर २२ गतेबाट शुक्लागण्डकीको भुजीकोटबाट भ्रमण शुरु गराएको थियो । पदमार्ग क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक एवं ऐतिहासिकस्थलका साथै त्यहाँ प्रचलित संस्कृतिलाई पर्यटनसँग जोड्न फोटो तथा भिडियोमार्फत स्थानीयको आयआर्जन अभिवृद्धि गर्नेमा लागि परेको व्यवस्थापन समितिका महासचिव हर्कबहादुर गुरुङले जानकारी गराए ।

पदमार्गमा पर्ने प्रत्येक स्थानीय तहको अपनत्व कायम गराउँदै यसलाई देशको उत्कृष्ट पदमार्ग स्थापित गराउने उद्देश्यका साथ प्रविधिमार्फत अघि बढेको उनले बताए ।

शुक्लागण्डकी नगरपालिकाको भुजीकोटबाट शुरु गरेको यस पदमार्गको पुस ३ गते गहते मनकामना, कुसुमभञ्ज्याङ, गमडाँडा हुँदै वालिङ नगरपालिकाको सुन्तलाबारी होमस्टेमा पुगेर सकाएको छ ।

तनहुँ तथा स्याङ्जाका साविकका २३ वटा गाउँविकास समिति पर्ने यस पदमार्गलाई सन् २००० मा शुरुआत गरिए पनि विभिन्न कारणबस यसले अपेक्षित गति लिन सकेको उनले बताए ।

मिलेनियम पदमार्गलाई प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक, ऐतिहासिक सम्पदाको समिश्रणसहितको साहसिक गतिविधि अनुभवका लागि नेपालमा मध्यपहाडी क्षेत्रको एक उत्कृष्ट पदयात्रा गन्तव्यका रुपमा लिन सकिन्छ ।