गंगा घले ।
पोखरा । मुस्ताङको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा जनै पूर्णिमाका दिन विशेष पूजापाठ हुने भएकाले तुलनात्मक रुपमा त्यसबेला बढी भक्तजनहरु त्यहाँ पुग्ने गर्दछ । विशेष गरी असारदेखि असोज महिनासम्म दामोदर कुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् ।
कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
कुण्डमा स्नानका लागि जाने भक्तजन नेपालीभन्दा भारतको उत्तराखण्ड, हिमाञ्चल, विहारलगायतका राज्यबाट बढी संख्यामा जाने गर्दछ ।
जिल्ला सदरमुकाम जोमसोमबाट कम्तिमा तीन दिनको यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । तीन तिरबाट ससाना थुम्काले घेरिएको तलाउ पश्चिममा खुला रहेको छ । दामोदर कुण्डमा गोलो आकारको एक चक्र देख्न सकिन्छ । फोटोमा नै उतार्न सकिने चक्र आकारको त्यो पहेँलो चक्रलाई विष्णुको सुदर्शन चक्र भनेर पनि विश्वास गरिन्छ ।
कुण्डबाट निस्केको पानीले सुन र चाँदी नामका अन्य दुई कुण्ड निर्माण गरी पश्चिम–दक्षिणतिर बग्दछ । धेच्याङ खोलाको नामबाट बग्ने यो खोला काली गण्डकीको तीन प्रमुख शिरमध्ये सबैभन्दा महत्वपूर्ण शिर हो । यो शाखा नाम्जा दोभानभन्दा माथि मुस्ताङबाट आएको काली गण्डकीको उत्तरी शाखामा मिसिन्छ ।
दामोदरकुण्ड अन्नपूर्ण, धवलागिरि, मुक्तिनाथ हिम शृंखलाभन्दा धेरै उत्तर–पूर्वमा रहेको छ । यसलाई हिमालभित्रको हिमाली क्षेत्र भन्न सकिन्छ । कुण्डको पूर्वमा ६ हजार मिटरभन्दा उचाइमा रहेका दामोदर हिमालका भृवmुटी (६,३६१ मि), वmुम्लुङ, कारसाङ, सोनाम र मनाङका नार र फू क्षेत्रका हिमाल पर्दछन् ।
जिल्ला विकास समितिले मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत रुपमा विकास गर्ने योजना अघि सारे पनि कार्यान्वयन हुन सकेको छैन ।
तस्विरमा हेरौं दामोदर कुण्ड ।