‘प्ल्ह–कु’ पुस्तक परिचय

-


     मर्दी न्युज    
     जेठ ९ गते २०८३ मा प्रकाशित


‘प्ल्ह–कु’ तमु बोँ धर्मपरम्परामा मानवको प्ल्ह (हंस/सातो/प्राण–चेतना) सम्बन्धी विश्वास, अनुष्ठान, उपचार पद्धति तथा शास्त्रीय मान्यताहरूलाई समेटेर तयार गरिएको एक महत्वपूर्ण धार्मिक–सांस्कृतिक ग्रन्थ हो । तमु भाषामा ‘प्ल्ह’ भन्नाले हंस, होस, चेतना, प्राण वा जीवनशक्तिलाई जनाउँछ भने ‘कु’ ले नौ संख्यालाई संकेत गर्दछ । यसर्थ, ‘प्ल्ह–कु’ भन्नाले शरीरबाट विचलित वा हराएको हंस (सातो) पुनः खोजी गरी शरीरमा प्रतिस्थापन गर्ने शास्त्रीय विधि र ज्ञानलाई जनाउँछ । कतिपयले यसलाई ‘प्ल्ह खु’ भनेर बुझ्ने गरे तापनि, तमु बोँ शास्त्रीय अध्ययनअनुसार यसको शुद्ध रूप ‘प्ल्ह–कु’ नै रहेको पुस्तकले स्पष्ट पारेको छ ।

तमु बोँ दर्शनअनुसार मानिस केवल भौतिक शरीर मात्र नभई हंस (सातो/प्राण–चेतना) सहितको जीवित सत्ता हो । यही चेतनात्मक शक्ति शरीरमा सन्तुलित रहँदा मानिस स्वस्थ, सचेत र ऊर्जावान रहन्छ । तर डर, झस्काइ, अप्राकृतिक घटना, मृत्युजन्य प्रभाव, प्राकृतिक स्थल वा अदृष्यमय शक्तिहरूको प्रभावका कारण सातो विचलित वा हराउन पुगेमा मानिस शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा असन्तुलित हुनसक्ने विश्वास तमु बोँ परम्परामा विद्यमान छ । यही विश्वास र उपचार–ज्ञानलाई आधार बनाएर विकसित प्ल्ह–कु अनुष्ठान तमु समुदायको एक महत्वपूर्ण धार्मिक तथा उपचारात्मक परम्पराका रूपमा स्थापित भएको छ ।

यस पुस्तकमा सातो हराउने कारण, त्यसका लक्षण, शास्त्रीय पहिचान तथा उपचारात्मक विधिहरूलाई व्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ । विशेषतः बिरामीको सातो कुन स्थान, अवस्था वा प्रभावका कारण हराएको हो भन्ने पहिचान गरी गरिने छ प्रकारका ‘प्ल्ह–कु’ अनुष्ठानहरू- सोँ लोँब प्ल्ह–कु, धीँ लोँब प्ल्ह–कु, तीँदाँ (मुल) प्ल्ह–कु, त्हुर्जा प्ल्ह–कु, लक्याँ क्रेब प्ल्ह–कु तथा क्युल्फुँ चैँगी प्ल्ह–कु-को शास्त्रीय अर्थ, सांस्कृतिक सन्दर्भ र उपचारात्मक पक्षलाई गहिरो रूपमा समेटिएको छ । यी अनुष्ठानहरूले सातो पुनः शरीरमा सुरक्षित रूपमा फर्काई मानसिक स्थिरता, शारीरिक सन्तुलन र जीवनशक्तिको पुनर्स्थापनामा केन्द्रित भूमिका निर्वाह गर्ने विश्वास पुस्तकमा प्रस्तुत गरिएको छ ।

यस ग्रन्थको अर्को महत्वपूर्ण पक्ष ‘प्हुँदा’ (सर्त) सम्बन्धी शास्त्रीय विवेचना हो । तमु बोँ परम्परामा कुनै पनि अनुष्ठान सफल हुन त्यसअनुसारको विधि, मन्त्रोच्चारण र सर्तको शुद्ध पालना अनिवार्य मानिन्छ । पुस्तकले प्रत्येक प्ल्ह–कु अनुष्ठानका लागि फरक–फरक प्हुँदा हुने र प्रशिक्षित खेगीले त्यसको गहिरो ज्ञान राख्नुपर्ने विषयलाई विशेष महत्व दिएको छ । साथै, ‘प्हैरु’ (रुपा/धागो) सम्बन्धी शास्त्रीय मान्यता—सात–नौ सरो, गाँठो, रंग, मन्त्रोच्चारण तथा शुभ–अशुभ सन्दर्भअनुसारको प्रयोगलाई समेत विस्तृत रूपमा स्पष्ट गरिएको छ । यसले प्रचलित भ्रमहरूलाई सच्याउँदै ‘प्हैरु’को वास्तविक शास्त्रीय अर्थ र प्रयोगलाई उजागर गर्ने प्रयास गरेको छ ।

यो पुस्तकको मूल शास्त्रीय लेखन पच्यु पैंडी चीव यारजङ गुरुङद्वारा सम्पन्न गरिएको हो, जसले तमु बोँ शास्त्रअनुसार प्ल्ह–कु सम्बन्धी विधि, मन्त्रोच्चारण तथा अनुष्ठानिक ज्ञानलाई व्यवस्थित रूपमा प्रस्तुत गर्नुभएको छ । पुस्तकको नेपाली लेखन, अनुवाद तथा सम्पादन खड्कजङ गुरुङद्वारा सम्पन्न गरिएको छ, जसले मौलिक शास्त्रीय ज्ञानलाई नेपाली भाषामा सरल, व्यवस्थित र अध्ययनयोग्य स्वरूपमा प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

यस ग्रन्थको प्रकाशनमा मादी गाउँपालिका को महत्वपूर्ण सहयोग रहेको छ भने सम्पूर्ण प्रकाशन प्रक्रियाको समन्वय प्ये रिसर्च एण्ड ट्रेनिङ सेन्टर ले गरेको छ । यस सहकार्यले तमु बोँ शास्त्रीय ज्ञानलाई दस्तावेजीकरण, संरक्षण र पुस्तान्तरण गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ ।

समग्रमा, ‘प्ल्ह–कु’ पुस्तक तमु बोँ धर्मपरम्परामा सातो, चेतना, स्वास्थ्य, प्रकृति, मृत्यु तथा आध्यात्मिक उपचार पद्धतिबीचको सम्बन्धलाई बुझ्नका लागि एक महत्वपूर्ण शास्त्रीय दस्तावेज हो । यो केवल धार्मिक अनुष्ठानहरूको सङ्ग्रह मात्र नभई तमु समुदायको गहिरो दार्शनिक चिन्तन, सांस्कृतिक विश्वास, उपचार ज्ञान र जीवनदर्शनको अभिलेख पनि हो । विशेषतः तमु बोँ धर्म, आदिवासी ज्ञानपरम्परा, सांस्कृतिक अध्ययन तथा शास्त्रीय अनुसन्धानमा रुचि राख्ने पाठक, खेगी, अध्येता तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक एक उपयोगी सन्दर्भग्रन्थ बन्ने अपेक्षा गर्न सकिन्छ ।