फोटोः रासस
बागलुङ । बडीगाड गाउँपालिका–७ भिमगिठे नजिकै यात्रुबाहक जीप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी ईश्मा गाउँपालिका– ५ का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भूमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का नरमाया खत्री रहेका छन् । मृत्यु हुने अन्य चार जनाको भने सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते हुनेहरुमा बर्दघाट २ का जीवन कार्की, ईश्माका ८ वर्षीय हिमाल कार्की र रेशमा कार्की छन् । बडीगाड खोलाले बगाएर १५ वर्षका धनबहादुर कार्की बेपत्ता भएको प्रहरीले बतायो ।
बढी भार र तीब्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जीपका सवार सबै देवीस्थानमा कुलपूजामा जान लागेका थिए । उक्त घटनास्थलमा अहिले प्रहरी ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।